पत्रकार विक्रम श्रेष्ठको आक्रोश, राज्यले शवको पहिचान र अन्तिम संस्कारको अधिकार खोसियो
१३ भदौ २०८३, शनिवार ०७:२० मा प्रकाशित

४०
Shares
ताजा सुचना
समय 8;00
सुजन अाचार्य
काठमाडौँ। बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार, राहत र शव व्यवस्थापनमा राज्य पूर्ण रूपमा असफल भएको भन्दै पत्रकार विक्रम श्रेष्ठले कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विपद्को समयमा सरकार लाचार र निरीह देखिएको आरोप लगाएका हुन् ।
श्रेष्ठले नुवाकोटदेखि चितवनसम्मका हजारौँ नागरिक आफ्ना हराइरहेका आफन्तको अवस्था अझै अज्ञात रहँदा भौँतारिन बाध्य भएको उल्लेख गरेका छन्। “५/७ दिनसम्म शव सुरक्षित राख्न नसक्ने र अस्थायी संरचनासम्म बनाउन नसक्ने राज्य संयन्त्र कसरी चलिरहेको छ?” भन्दै उनले प्रश्न उठाएका छन् ।
नागरिकबाट विपद् व्यवस्थापनका नाममा अरबौँ रुपैयाँ उठाइए पनि सरकारसँग न्यूनतम क्षमता र दूरदर्शिता नदेखिएको उनको ठहर छ। आवश्यक पर्दा विदेशी मुलुकसँग सहयोग माग्नसमेत हिचकिचाउने तर देशभित्रै आफ्ना नागरिकलाई सास्ती दिने प्रवृत्तिप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।
नेपालको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार हरेक नागरिकका परिवारले आफ्ना आफन्तको शव पहिचान गरी उचित संस्कार गर्ने अधिकार राख्ने स्मरण गराउँदै श्रेष्ठले भनेका छन्, “अहिले शवहरूलाई पशुलाई झैँ खाल्डो खनेर पुर्ने काम भइरहेको छ। कसको आदेशमा र कुन बाध्यताले राज्य यति हतारिएको छ?”
यदि अन्ततः पहिचान र परिवारलाई हस्तान्तरण नगरी खाल्डोमा गाड्नु नै थियो भने बाढीको माझधारबाट जोखिम मोलेर शव निकाल्नुको औचित्य के थियो भन्दै उनले राज्यको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।






