जैमिनीमा तीजको बहार : ब्याडमिन्टनदेखि तीज गीत प्रतियोगितासम्म
–

समय ठिक 8.36
सुजन आचार्य
श्रावण २६ गते २०८३ मा प्रकाशित
बागलुङ, साउन २६ — नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०८३ लाई थप उल्लासमय र सिर्जनात्मक बनाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित तीज मेला–२०८३ आयोजना हुने भएको छ।
जैमिनी ब्याडमिन्टन संघ, कुश्मीसेराको आयोजनामा हुने उक्त मेलाले तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै खेलकुद र मनोरञ्जनमार्फत स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
मेलाअन्तर्गत भदौ २७ र २८ गते धौलागिरी अञ्चलस्तरीय ‘सी–लेभल’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ। जैमिनी ब्याडमिन्टन संघको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा धौलागिरी क्षेत्रका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने आयोजकको विश्वास छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ तथा दुई उपविजेता टोलीलाई जनही ६–६ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागिताका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।
यसैगरी, भदौ २९ गते हिमालयन बोर्डिङ स्कुल, कुश्मीसेरामा खुला तीज गीत प्रतियोगिता आयोजना गरिने भएको छ। नेपाली समाजमा तीज गीतको मौलिकता, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न समूह र कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि टिम दर्ता निःशुल्क राखिएको आयोजकले जनाएको छ।
जैमिनी ब्याडमिन्टन संघका अध्यक्षका अनुसार तीज मेलालाई खेलकुद र सांस्कृतिक गतिविधिको साझा उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। तीज पर्वलाई केवल मनोरञ्जनमा सीमित नराखी स्थानीय प्रतिभाको पहिचान, कला संस्कृतिको संरक्षण तथा स्वस्थ प्रतिस्पर्धाको माध्यम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
आयोजकले सम्पूर्ण खेलप्रेमी, कलाकार, दिदीबहिनी, युवायुवती तथा शुभेच्छुक महानुभावहरूलाई कार्यक्रममा सहभागी भई मेलाको शोभा बढाउन आग्रह गरेको छ।
तीज पर्वको सांस्कृतिक उल्लास, लोकसंस्कृतिको संरक्षण र खेलकुदको प्रवर्द्धनलाई एकै थलोमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको तीज मेला–२०८३ ले कुश्मीसेरा क्षेत्रमा विशेष उत्साह थप्ने विश्वास गरिएको छ।







